५ बर्ष केपी ओलीलाई सरकार चलाउन जनताको म्याण्डेट , ओली नै कीन त ?

मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा एमाले र माओवादी केन्द्रको नेतृत्वमा बनेको वाम गठबन्धनले प्रतिनिधिसभातर्फ बहुमत ल्याउने निश्चित भइसकेको छ ।

वाम गठबन्धन पक्षधरले अपेक्षा गरेको तर प्रतिपक्षका लागि आश्चर्य बनेको यो परिणाम आउनुका कारणबारे अहिले अनेक कोणबाट विश्लेषण भइरहेका छन् । समानुपातिकतर्फको परिणाम आएर नयाँ सरकार नबन्दासम्म थप चर्चा र विश्लेषण भइरहनेछन् ।

सबैभन्दा पहिला, कांग्रेस आश्चर्यमा पर्नुका कारण खोतलौं । चुनावपूर्व कांग्रेसको नेतृत्व र शुभेच्छुकले एमालेको मत माओवादी र माओवादीको मत एमालेमा पूरै सर्ने विश्वास गरेका थिएनन् । स्थानीय चुनावमा माओवादीसँग गठबन्धन गर्दा कांग्रेस र माओवादीबीच पूरै मत हस्तान्तरण हुन नसकेका कारण कांग्रेस पंक्तिले यस्तो सोच्नु स्वाभाविक थियो ।

एमाले र माओवादीबीच नेतृत्व तहमा मात्र नभएर स्थानीय तहमा पनि तीक्त सम्बन्ध रहेकाले दुई पार्टीबीचको गठबन्धन प्रभावकारी नबन्ने तथा त्यसको फाइदा आफूले पाउने आशा कांग्रेसले गर्नु अस्वाभाविक थिएन । अर्कोलाई कमजोर नपारी आफ्नो उन्नति नहुने एमाले र माओवादी नेतृत्वले नबुझेको भए तथा त्यसअनुसार रणनीति निर्माण नगरेको भए सायद कांग्रेस वृत्तमा सोचेजस्तै परिणाम आउने थियो ।

त्यसैले गठबन्धनका निर्माताले सकेसम्म धेरै मत हस्तान्तरण गर्ने तयारी गरेका थिए । त्यसका लागि उनीहरूले ६ बुँदे सहमतिमा चुनावलाई भन्दा पार्टी एकतालाई बढी महत्व दिए । नेताहरूले पनि लेख र अन्तर्वार्तामार्फत चुनावलगत्तै पार्टी एकता हुने विचार सम्प्रेषण गरे । यसले सशस्त्र र शान्तिपूर्ण दुई भिन्न बाटोबाट आएको भए पनि माओवादी र एमालेका कार्यकर्तामा गठबन्धन चुनावका लागि मात्र बनेको नभएर पार्टी एकताकै तयारी भएको र चुनावलगत्तै एउटै पार्टी निर्माण हुने विश्वास जगायो । यसले गठबन्धनको अर्को पार्टीलाई मत दिएर जिताउँदा पनि सरकार निर्माण र सञ्चालनमा कुनै धोका नहुने मनोविज्ञान बन्यो ।

त्यो मनोविज्ञानलाई थप बलियो बनाउन एमाले र माओवादी नेतृत्वपंक्तिले व्यावहारिक योजना पनि तयार पार्‍यो । जसअनुसार उम्मेदवारी मनोनयन दर्तालगत्तै दुवै पार्टीका अगुवा कार्यकर्ताको संयुक्त जिल्ला भेला बोलाउन लगाइयो । गाउँदेखि टोल कमिटीसम्मका छुट्टाछुट्टै बैठक र भेला गराउनुको साटो एकैपटक संयुक्त बैठक र भेला गरी एकीकृत चुनाव परिचालन कमिटी बनाइयो । गठबन्धनका पार्टीले छुट्टै बैठक र भेला नगरेकाले दुवै पार्टीका कार्यकर्तामा अविश्वास र अन्तर्घात हुन पाएन ।

ओलीको लोकप्रियताकै कारण समानुपातिक मतगणनामा पनि एमालेले कांग्रेसलाई पछि पारिरहेको देखिएको छ । ओलीको नेतृत्वमा पाँच वर्षका लागि स्थिर सरकार बनोस् भन्ने आम मतदाताको चाहना देखिन्छ ।

दुवै पार्टीबीच व्यावहारिक एकता कतिसम्म बलियो पार्ने व्यवस्था गरियो भने चुनावी अभियानको क्रममा दुवै पार्टीका नेता कार्यकर्ता एकै घरमा बसे, एउटै भान्सामा खाए र प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार फरकफरक पार्टीका भएका ठाउँमा चुनावी खर्च पनि संयुक्त कोष बनाएर गरियो । यसअघिका चुनावमा उम्मेदवारको गुटका कार्यकर्ता मात्र अभियानमा परिचालित हुने गरेकोमा दुई पार्टीबीचको गठबन्धनले अविश्वास र अन्तर्घात नहुने यस्तो शैली कार्यान्वयन गराएको थियो ।

यस्तो रणनीति अपनाइएको भए पनि मतपरिणामले कयौं ठाउँमा दुई पार्टीका मत एकअर्कामा सरेको देखाएन । नेतृत्वले गरेका व्यवस्था कडारूपमा लागू नगरिएकाले ती ठाउँमा अपेक्षित परिणाम नआएका हुन् । दुई पार्टीबीच विगतमा रहेको शत्रुतापूर्ण सम्बन्धलाई सामान्यीकरण गर्न नसक्नु अर्काे कारण हुन सक्छ । त्यसो त, मत सरेका ठाउँहरूमा पनि गठबन्धनको दिगोपन र पार्टी एकताबारे प्रशस्तै आशंका गरेको देखियो । खासगरी, माओवादी केन्द्रले विगतमा अनेकौं गठबन्धन गर्दै तोड्दै गरेकाले फेरि पनि उसले त्यस्तै गर्ने आशंका एमाले मतदातामा देखिन्थ्यो ।

दुई पार्टीका नेतृत्व र कार्यकर्ताबीच तीक्तता रहे पनि समर्थक, शुभचिन्तक र मतदातामा वामपन्थी एक हुनुपर्ने मनोविज्ञान थियो, जुन गठबन्धन निर्माण र यसको सफलताको प्रमुख आधार थियो । माओवादीसँग गठबन्धन नगर्दा उसले कांग्रेससँग गठबन्धन गर्ने र त्यसो हुँदा आफ्नो बहुमत नआउने एमालेको चिन्ता थियो । एक्लै चुनाव लड्दा कमजोर बनिने तर कांग्रेससँगको गठबन्धन नफाप्ने माओवादीको अनुभव यो गठबन्धन निर्माणको अर्को प्रमुख कारण थियो ।

यस्तो अवस्थामा बनेको बाम गठबन्धनले अख्तियार गरेको रणनीति र शैलीले वामपन्थी नमिलेकाले विपक्षले मौका पाएको मानेर चिन्तित मतदातालाई हर्षित र उत्साहित बनायो । तर यस्ता कार्यकर्ता, समर्थक र मतदाता पनि थिए, जो द्वन्द्वकाल र त्यसपछिका घटनामा एकअर्काबाट पीडित थिए । खासगरी माओवादीबाट पीडित एमाले कार्यकर्ता र समर्थकलाई माओवादीमा मत दिलाउनु गठबन्धनको चुनौती थियो ।

उनीहरूका सामू माओवादीका उम्मेदवारलाई कञ्जुस्याईं नगरी सार्वजनिक वा व्यक्तिगतरूपले माफी माग्न लगाइयो । त्यसपछि विगतलाई सम्झेर रुनु वा आक्रोशित हुनुभन्दा वामपन्थी सरकार बनाउन पीडक नै भए पनि मत दिन उनीहरूलाई एमालेका नेताहरूले अनुनय गरे । यस्ता अनेकौं प्रयासका कारण धेरैले अनुमान र विश्वास गर्न नसक्ने गरी एमाले र माओवादीको मत एकअर्कामा सरेर यस्तो परिणाम आएको हो ।

वाम गठबन्धनले गरेका यी सबै प्रयास गोप्य थिएनन् । तर महासंग्राम मानिने चुनावमा विपक्षले गरेका यी प्रबन्ध र त्यसले ल्याउने परिणामलाई कांग्रेस नेतृत्वपंक्तिले आकलन गर्न सकेन । यो निश्चित हो कि यस्ता रणनीतिका कारण मात्र वाम गठबन्धनले यो आकारमा विजय प्राप्त गरेको होइन । गठबन्धन निर्माणलाई ‘स्थिर सरकार र समृद्ध नेपाल निर्माण’ को उद्देश्यसँग जोडिएको थियो । समृद्धि प्राप्त गर्न नसक्नुको एउटा महत्वपूर्ण कारण बारम्बार सरकार परिवर्तन हुनु हो भन्ने बुझेका वाम र आम मतदातालाई एमाले र माओवादी गठबन्धनको यो सुन्दर र मुख्य नाराले आकर्षित गर्नु स्वाभाविक थियो ।

समृद्धिको नाराका अघि कांग्रेसले लगाएको ‘वामपन्थीको सरकार आए लोकतन्त्र रहँदैन’ भन्ने नारा फिका भयो । २०४६ देखि एमाले कांग्रेसभन्दा कुनै पनि हिसाबले प्रश्न उठाउन नसकिने गरी लोकतान्त्रिक पद्धतिमा समाहित र सक्रिय रहेको तथा माओवादी पनि २०६२ पछि लोकतान्त्रिक पद्धतिको अंग बनिसकेको सन्दर्भमा कांग्रेसको त्यो नाराले जनमानसलाई प्रभाव पार्न सकेन ।

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा भारतीय नाकाबन्दीको डटेर सामना गरेको तथा चीनसँग व्यापार र पारवहनलगायत महत्वपूर्ण सम्झौता गरेर नेपालका लागि उत्तरको विकल्प खोलेको सम्झना मतदातामा बलियो बनेर रहेको थियो । यही कारण थियो, कयौं ठाउँमा कांग्रेस र माओवादीबीच गठबन्धन हुँदा पनि गत स्थानीय निर्वाचनमा एमाले पहिलो पार्टी बनेको थियो ।

ओलीको लोकप्रियताकै कारण समानुपातिक मतगणनामा पनि एमालेले कांग्रेसलाई पछि पारिरहेको देखिएको छ । अहिले गठबन्धनले यो मात्रामा विजय पाउनुमा ओलीको नेतृत्वमा पाँच वर्षका लागि स्थिर सरकार बनोस् भन्ने आम मतदाताको चाहना प्रमुख कारण देखिन्छ ।

वाम गठबन्धनले यो निर्वाचनको लडाइँ जित्न स्पष्ट लक्ष्य र योजना, विजयी मनोविज्ञान तयार गर्नेलगायतका तयारी गरेको थियो । तर कांग्रेस यी सबैबाट बेखबर थियो र उसको तयारी पनि प्रभावकारी थिएन । वाम गठबन्धनको मत पूरै हस्तान्तरण हुँदैन भन्ने गलत विश्वासको आधारमा कांग्रेस चुनाव लडेकाले पनि उसको पराजय तथा वाम गठबन्धनको विजय भएको देखिन्छ ।

–सुवास देवकोटाले अन्नपूर्ण पोष्टमा लेख्नुभएको विश्लेषण

(Visited 12 times, 1 visits today)

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*