महाकवि देवकोटाको अक्षर Please Share !

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवनसँग अनेक किसिमका प्रसंग जोडिएका छन् ।तलब बुझेको दिन खसीको टाउको लिएर घर आउने, खान-पिउनमा सोखिन व्यक्तित्वको रूपमा कहीँ-कतै उनी चित्रित हुने गरेका छन् भने कतै उनलाई हिँड्दाहिँड्दै बाटोमा कोही दीनदुःखी देखिएको अवस्थामा आफूले लगाइराखेकै कोट फुकालेर दिने दयावान् व्यक्तिको रूपमा समेत चित्रण गर्ने गरिएको पाइन्छ ।
मूलतः उनी कल्पनावादी थिए तथापि यथार्थलाई उनले कहिल्यै नकारेनन् । उनले भनेका छन्, ‘म काल्पनिक सत्यलाई सबभन्दा ज्यादा रुचाउँछु जसमा अलंकार चन्द्रोदयको नियम पनि हुँदैन…।’
त्यसो त, बाँचुन्जेल यस्तो मान्यता बोकेर बाँचे-
कुन मन्दिरमा जान्छौ यात्री
कुन मन्दिरमा जाने हो
कुन सामग्री पूजा गर्ने
साथ कसोरी लाने हो…
फर्क हे फर्क जाऊ समाऊ मानिसहरूको पाउ
मलम लगाऊ, आर्तहरूको चहराइरहेको घाउ…
सडक किनारा गाउँछ ईश्वर चराहरूको तानामा
बोल्दछ ईश्वर मानिसहरूको पीडा-दुःखको गानामा
धार्मिक रूपमा ईश्वर-पूजनविरुद्ध देखिएका उनै नास्तिक देवकोटाले जीवनको अन्तिम क्षणमा आएर लेख्न पुगे, ‘आखिर श्रीकृष्ण रहेछ एक…।’
सम्भवतः परिवर्तनशील समयको प्रवाहमा देवकोटाले मात्रै आपूmलाई अपवादमा राख्न सकेनन् । चाहेरै पनि बन्न सकेनन् ।

सत्य यही हो- कुनै पनि विषयमा धारणा बनाउन सकिन्छ वा मान्यतै बनाउन सकिन्छ । तर, त्यसो गर्दैमा सत्यता बदलिँदैन । अर्थात् मान्यता स्थापित हुन सक्दैन । देवकोटाको प्रसंगमा, उनले मानिआएको धार्मिक नास्तिकता र पछिल्लो चरणमा उनको त्यो मान्यतामा आएको विचलनले ‘सत्य’लाई के फरक पर्‍यो ? ईश्वर हुनु र नहुनुसँग उनको धार्मिक आस्था वा नास्तिकताको के सम्बन्ध ? यस अर्थमा मान्छेलाई छुट छ— ईश्वर मान्नु या नमान्नुमा । ईश्वरप्रति आस्थावान्हरू पूर्ण भक्तिका साथ विश्वासपूर्वक ईश्वरको पूजा गर्छन् भने नास्तिकहरू ईश्वरलाई पूर्णतः अविश्वास गरी उसको अस्तित्वलाई नै नकार्छन् । यो सम्भवतः संसारको एउटै मात्र अन्तहीन बहस हो । संसार रहुन्जेल यो विवाद चलिरहन्छ ।
महाकविले जीवनभर ईश्वरको अस्तित्वलाई नकारेर सन्तुष्टि लिए भने कालान्तरमा त्यो अस्तित्वलाई स्वीकारेर सन्तुष्टि लिन खोजे । यस अर्थमा ईश्वरको अस्तित्व हुनु र नहुनुको सार्थकता मान्छेको सन्तुष्टिमा निर्भर रहन्छ । यति सामान्य विषयलाई देवकोटाको जीवनसँग जोडेर अतिरञ्जित गरिनु किञ्चित ठीक होइन । जीवनभर उनी अनिश्वरवादी थिए त थिए अथवा जीवनको अन्तमा आएर ईश्वरवादी भए त के भो ? सबैले बुझ्नुपर्छ- उनी ईश्वरवादी नभएर वा भएर महान् कहलाइएका कदापि होइनन् ।
एक प्रसंगमा कवि केदारमान ‘व्यथित’ले भनेका थिए, ‘गर्मी मौसमको एक दिन दरबार हाइस्कुलसामु रहेको रानीपोखरीतर्पm औंल्याउँदै देवकोटाले मलाई भने— जाऊँ कविजी, त्यो तलाउमा गएर डुबौं !’
देवकोटालाई रानीपोखरीको गहिराइसँग के मतलब ? उनी त मदमस्त थिए ! उनलाई त शरीरको गर्मी मात्रै थाहा थियो । त्यसैले गरम शरीरलाई पानीमा चोबल्न पाए शीतल हुनेमा उनी ढुक्क थिए । अरूका आँखामा ‘पागल’ त छँदै थिए उनी । उनले पहिले नै लेखिसकेका थिए—
‘जरुर साथी म पागल !
यस्तै छ मेरो हाल !
म शब्दलाई देख्दछु,
हृदयलाई सुन्दछु,
बास्नालाई स्वाद लिन्छु;…
मेरो गणितमा एकबाट एक झिके
एकै बाँकी रहन्छ,
तिमी पाँच इन्द्रियले काम गर्दछौ, म छैटौंले
तिम्रो गिदी छ साथी ! मेरो मुटु !…’
सम्भवतः देवकोटालाई साँच्चैको देवकोटा बनाउन ‘पागल’ले नै सबैभन्दा अग्रणी भूमिका खेलेको छ भन्नु अत्युक्ति हुँदैन ।
भनिन्छ, देवकोटा दर्जनौं भाषाका ज्ञाता थिए । नेपाली वा अंग्रेजीमा त उनी धाराप्रवाह घन्टौं बोल्न सक्थे नै । यद्यपि उनले लेखेका कविता भने सम्भवतः यी दुई भाषामा मात्र प्रचारमा आएका छन् । त्यसो त उनलाई कविता या काव्य-विधामा मात्रै बाँध्नु पक्कै पनि उनीप्रति अन्याय गरेको ठहरिन्छ । किनकि गद्य-विधामा पनि कविता जत्तिकै गहनता र गाम्भीर्य पाइन्छ, उनको । अन्यथा उनका ‘के नेपाल सानो छ ? ‘ जस्ता निबन्धलाई नेपाली निबन्धको मानक या कोशेढुंगा किन मानिन्थ्यो ?
देवकोटाको साहित्यिक इतिहास पढ्नेलाई थाहा छ, गद्य-लेखनमा उनको कलमको क्षमता ! एउटै विषयलाई लिएर दर्जनौं पृष्ठसम्म विस्तृतीकरण गर्नसक्ने खुबी उनमा विद्यमान थियो । यसै सिलसिलामा नेपाली नयाँ शब्दहरूको समेत उनीद्वारा आविष्कार (निर्माण) भएको तथ्य नेपाली शब्दकोशले पनि बोल्छ ।
यहाँ महाकवि देवकोटाको सबैभन्दा महत्त्वपूर्ण पक्षको उल्लेख गर्नै बाँकी छ । त्यो के भने, सरस्वतीपुत्र हुनुका नाताले लेखक-कविलाई औधी माया गर्नु उनको जीवनको विशेष चरित्र थियो । उनी अग्रज-अनुज दुवैलाई उत्तिकै आदर-सम्मान गर्ने गर्थे । कसैको अनुरोधमा कवितै लेखेर दिनसक्ने महान् स्रष्टा निहित थियो उनीभित्र । खास गरेर आफ्ना अनुजले लेखेका सिर्जनालाई ध्यान दिएर सुन्ने र प्रतिक्रिया दिनेसम्मको गुण थियो उनमा । उनले लेखक-कविको व्यक्तित्व वा तिनका सिर्जनामाथि कलम पनि चलाउने गरेका थिए । दोस्राप्रति दयालु, मायालु-प्रेमिल शब्द खर्च गर्न उनी पटक्कै कञ्जुस्याइँ गर्दैनथे । यहाँ त्यसकै एउटा नमुना (देवकोटाकै हस्तलिपिमा) प्रस्तुत छ । गीतकार भैरवनाथ रिमाल ‘कदम’ बारे देवकोटाले यस्तो लेखेका छन्-
‘ श्री भैरवनाथ रिमाल कदमजी बाल्यकालदेखि नै घरेलु दुःख बेहोरेर दुःखको पाठशालामा धेरै पास भई विलपीरहेका कवि हुनुहुन्छ । वहाँको कविताको माधुर्यको समालोचना, र सद्गुणको जोखतौललाई व्यावहारिक रसास्वादनलाई (मा) राखेर, म भन्न शक्तछु कि सानो उमेरमै यति चिल्लो र यति बहुसंख्य पात हालेर हलक्क बढ्न खोज्ने बिरुवालाई जलप्रकाशको अभाव हुनजानु एक दिल दुख्दो कुरो हो ।.. मेरो प्रार्थना यही छ- यसतर्पmका सज्जन तथा उसतर्पmका रसिकहरूसँग कि यो बिरुवाले पनि आफ्नो भाग्य निर्णय गर्न आर्थिक तथा अरू सहयोग पाओस् .
निवेदक- लक्ष्मीप्रसाद देवकोटा’
महाकवि देवकोटाको विषयमा खास गरेर उनका विशेषताको फेहरिस्त जति पनि लामो हुनसक्छ । त्यसको लम्बाइ खोजकर्ताहरूको कार्य-निपुणतामा आधारित छ ।

(Visited 11 times, 1 visits today)

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*