नारायणगढ–मुग्लिन सडकखण्ड: समयमै नसक्ने ठेकेदारलाई ७५ लाख जरिवाना

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड तोकिएको समयमा काम पूरा नगर्ने ठेकेदार कम्पनीबाट ७५ लाख रुपैयाँ जरिवाना असुल गर्ने भएको छ। सडक निर्माणमा ढिलासुस्ती गरेका कारण यो सडकको पहिलो र तेस्रो खण्डको जिम्मेवारी पाएका दुई निर्माण कम्पनीबाट जरिवाना असुल गरिएको हो ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार पहिलो खण्ड आँपटारीदेखि झण्डै १३ किलोमिटर सडकखण्ड निर्माणको जिम्मा लिएको बिएलए श्रेष्ठ जेभी निर्माण कम्पनी र तेस्रो खण्ड सिमलतालदेखि मुग्लिनसम्मको जिम्मा लिएको सुप्रिम रौताहा जेभी निर्माण कम्पनीबाट जरिवाना असुल गरिएको हो ।

पहिलो खण्डको बिएलए तथा श्रेष्ठ निर्माण कम्पनीबाट आठ लाख र तेस्रो खण्डको सुप्रिम तथा रौताहा निर्माण कम्पनीबाट ६७ लाख जरिवाना असुल गरिएको छ । खनालका अनुसार मंसिर महिनामा उनीहरुले पाउने भुक्तानीबाट जरिवाना असुल गरिएको हो । यो सडकखण्ड दुई बर्षभित्र सम्पन्न गर्न ठेकेदार कम्पनीलाई दुई अर्ब ९० करोडमा ठेक्का दिइएको थियो । पहिलो खण्डको ६१ करोड, दोस्रो खण्डको ९८ करोड र तेस्रो खण्डको एक अर्ब ३१ करोडमा ठेक्का दिइएको थियो ।

खनालका अनुसार ठेक्का दिँदा समयलाई तीन भागमा विभाजन गरेर पहिलो आठ महिनामा १५ प्रतिशत, दोस्रो आठ महिनामा ५० प्रतिशत र तेस्रो आठ महिनामा बाँकी काम सम्पन्न गर्नुपर्ने सर्त राखिएको थियो ।

दोस्रो आठ महिनाको समयमा ५० प्रतिशत काम सम्पन्न नगरेपछि पहिलो खण्ड र तेस्रो खण्डका निर्माणमा कम्पनी जरिवानामा परेका हुन् । भूकम्प, नाकाबन्दी, चक्काजामलगायतका कारण थप भएको समयसीमामा पनि काम सम्पन्न नगरेपछि उनीहरुलाई जरिवाना गरिएको हो ।

(Visited 7 times, 1 visits today)

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*